ललितपुरले चालू आर्थिक वर्षलाई ‘सुशासनको वर्ष’का रुपमा मनाउने


काठमाडौं । ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ।
बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो बताइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालू आर्थिक वर्षलाई सुशासन वर्षको रुपमा मनाइने बताए।
उनले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवर्द्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्षका रुपमा मनाउन लागिएको बताए।
मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको बताए। दमकलको यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद् सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहोर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताए।
त्यस्तै मेयर महर्जनले महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने बताए। उनले आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजस्व संकलन प्रक्रियालाई अनलाइन सिस्टममा आबद्ध गर्ने बताए।
मेयर महर्जनले मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने जानकारी दिए। यस्तै महानगरले शैक्षिक क्रियाकलापलाई एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गरिने योजना पनि महानगरले बताएको छ।
मेयर महर्जनले खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने बताए।