‘प्रकाश’ भ्रष्टाचार मात्र नभएर अन्य समस्या पनि देखाउने फिल्म होः प्रदिप खड्का


काठमाडौं । प्रायः प्रेम केन्द्रित फिल्ममा अभिनय गरेर चर्चामा आएका अभिनेता प्रदिप खड्का ‘प्रकाश’ फिल्ममा फरक भूमिकामा देखिएका छन्।
भदौ १० गते प्रदर्शनमा आउन लागेको फिल्ममा खड्काले गरेको अभिनयलाई लिएर हाल निकै चर्चा पनि भइरहेको छ। फिल्मको टिजर तथा केही गीत सार्वजनिक भइरहँदा फिल्मले निकै राम्रो हाइप पनि बनाइरहेको छ।
यसबीच केही दिनअघि फिल्मको प्रचारात्मक पत्रकार सम्मेलन चितवनमा आयोजना भएको छ। फिल्मको निर्माण पक्षले ‘बटुवा कमेडी’का नाममा देशभर गर्न लागेको कमेडी टुरअन्तर्गत् चितवनमा हुन लागेको कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा खड्काले आफूले अब एक्टर बन्ने प्रयास गरेको बताएका छन्।
‘तिमीले यस्तो फिल्म गर्नुपर्छ भन्ने सुझावपछि मलाई यस्तो महसुस भयो,’ अभिनेता खड्काले भनेका छन्, ‘अहिलेसम्म हिरो बन्ने प्रयास गरें, अब म एक्टर बन्ने प्रयास गर्छु भनेपछि दाइहरुसँग भेट हुन थाल्यो। प्रकाश फिल्मको सोच मलाई एकदमै मन पर्ये। त्यसपछि फिल्म गरौ भनेर अगाडि बढियो।’
‘फिल्म बनाइदिन्छु, तिमी हिरो बन्छौ त?’ भन्ने सोचाइबाट सुरु भएको मान्छेलाई कस्तो फिल्म खेल्नुपर्छ र के फिल्म गर्नुपर्छ भन्ने थाहा नहुने प्रदिपले बताएका छन्। तर, परिस्थितिको मागअनुसार आफूलाई अघि बढाएर आफूले खेलिरहेको फिल्मभन्दा बाहिर रहेका दर्शकलाई पनि फिल्म देखाउनुपर्छ भन्ने महसुस गरेको खड्काले बताएका छन्।
सँगै अभिनेता खड्काले आफूले अभिनय गरेको फिल्म ‘प्रकाश’ले भ्रष्टाचार मात्र नभएर अन्य समस्याहरुलाई पनि देखाउने बताए। उनले आफूले यो किसिमको फिल्ममा काम गर्न लाग्दा आफूले सक्छु वा सक्दिँन भन्ने लागेको पनि बताए। उनले भने, ‘म असफलतासँग डराउने मान्छे त होइन, खराब परिस्थिति आयो भने के हुन्छ फरक पर्दैन मलाई। म तयार भएको हुन्छु।’