रुसले आणविक हतियार प्रयोग गर्न सक्छः पेस्कोभ


मस्को । रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेन द्वन्द्वको सन्दर्भमा अस्तित्वको खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिएका हुन् ।
पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै कारणहरू पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वको खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तरवार्तामा उनले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सिएनएनका प्रश्नमा पेस्कोभको सो भनाई आएको हो ।
युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनहरुको त्रास छ । यसअघि पुटिनले राष्ट्रहरू विरुद्ध परमाणु हतियार प्रयोग गर्ने संकेत दिएका थिए ।