नेपाल टी–२० विश्वकपमा छनोट हुनबाट बञ्चित, युएईसँग ६८ रनले पराजित


काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ। मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग ६८ रनले पराजित हुँदै नेपाल विश्वकपमा पुग्न असफल भएको हो।
सेमिफाइनलमा युएईलाई पराजित गरेको भए नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने थियो। यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको थियो।
तर, मंगलबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि दिएको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल त्यसको आसपास पनि पुग्न सकेन। बलिङ र ब्याटिङ दुवैमा कमजोर सावित भएको नेपाल १८.४ ओभरमा १०७ रन बनाउँदै आउट हुन पुग्यो।
युएईका दाहिने हाते मिडियम फास्ट बलर जुनैद सिद्दिकी घातक बन्दा पावर प्ले समाप्त नहुँदै नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो।
नेपालका ओपनर आसिफ शेख गोल्डेन डक आउट हुन पुगे। उनलाई पहिलो ओभरको चौंथो बलमा जुनैदले एलबीडब्लू आउट गर्दै क्रिजबाट बाहिर पठाइदिए।
यसअघि जारी प्रतियोगिताको समूहण चरण अन्तर्गत क्यानडाविरुद्धको खेलमा उनले १७ रन बनाएका थिए। फिलिपिन्ससँगको खेलमा भने उनी गोल्डेन डक आउट भएका थिए। प्रतियोगिताकै पहिलो खेलमा अर्थात् ओमानविरुद्धको खेलमा उनी ४ रनमा समेटिएका थिए।
त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मिलित चारदेशीय टी–२० आई सिरिजमा पनि उनको खराब लय कायमै थियो। उनले आयरल्याण्डविरुद्धको खेलमा २३ रन बनाए भने युएईविरुद्धको खेलमा ३४ रन बनाएका थिए।
यस्तै, युवा ब्याटर लोकेश बम पनि गोल्डेन डक आउट भए। उनी पहिलो ओभरको अन्तिम बलमा जुनैदले मोहम्मद वासिमको हातबाट क्याच आउट गराए। यता, फिलिपिन्सविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल पनि क्रिजमा टिक्न सकेनन्।
उनलाई जुनैदले दोस्रो ओभरको अन्तिम बलमा वृत्य अरविन्दको हातबाट क्याच आउट गराइदिए।
जित दिलाउने ऐरी र मल्लको एकल प्रयास
लोकेश बम आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी स्लो बायाँ हाते अर्थोडक्स बलर अहमद रजाको जालमा परे। उनलाई १२औं ओभरको अन्तिम बलमा जराले ३८ रनमा एलबीडब्ल्यू आउट पारे।
आउट हुनु अगाडि ऐरीले ३८ बलमा ४ चौका प्रहार गरेका थिए। यसअघि ऐरीले ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रन बनाएका थिए। यता, क्यानडाविरुद्धको खेलमा ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहेका थिए।
ऐरी आउट भएपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि इनिङ्स उकास्ने कोसिस गरेका थिए। तर, उनी पनि सफल हुन सकेनन्।
१२औं ओभरको चौंथो बलमा रजाको बलमा २० रनमा वासिमको हातबाट क्याच हुनुपूर्व उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि क्रिजमा आएका कप्तान सन्दीप लामिछाने पनि ४ रनमा आउट भए। यस्तै, युवा ब्याटरहरु विवेक यादव र कमलसिंह ऐरी पनि टिकेर खेल्न सकेनन्।
सन्दीप १५औं ओभरको चौंथो बलमा रजाको बलमा वासिमबाट क्याच आउट भए। उनले ६ बल खेले। यता, १३ बलमा १ चौकासहित ८ रन बनाएका विवेक १५औं ओभरको अन्तिम बलमा रजाले जहुर खानको हातबाट क्याच आउट गराए। यस्तै, कमललाई पनि १७औं ओभरको अन्तिम बलमा रजाले जहुरबाट क्याच आउट गराए।
यता, जितेन्द्र मुखिया १८औं ओभरको चौंथो बलमा जहुरको बलमा बोल्ड भएपश्चात नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना ओमानमै तुहियो।
नेपाललाई सस्तैमा समेट्न युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। कप्तान अहमद रजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।
नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौंथो बलमा युएईका ओपनर चिराग सुरीलाई ४ रनमै बोल्ड गरेका थिए।
नेपालको घरेलु लिग पोखरा प्रिमिपर लिग (पीपीएल)समेत खेलिसकेका सुरुले विश्वकप छनोट अगाडि भएकोओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा उच्च प्रदर्शन गरेका थिए।
सिरिजमा नेपाललाई हराउन ८४ रनको अविजित इनिङ्स खेलेका उनी सेमिफाइनलको खेलमा भने त्यति घातक रहेनन्। उनी पछाडि आएका आक्रामक ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्द भने नेपाली बलरलाई टाउको दुखाइ बन्न पुगेका थिए।
१९ वर्षीय विकेटकिपर अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक इनिङ्स खेले। उनलाई कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको तेस्रो बलमा बोल्ड गरे।
अरविन्द युएईका प्रमुख हतियार हुन्। अरविन्दले विश्वकप छनोटअन्तर्गत समूह चरणको खेलमा टेस्ट टोली आयरल्यण्डविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै गरेका थिए।
आयरल्यण्डलाई हराउन अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ्स खेलेका थिए। बहराइनलाई हराउन उनी ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए।
विश्वकप छनोटमा जमर्नीसँग ४० रनमा रन आउट हुँदा त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
आयरल्याण्डविरुद्ध ५० रन बनाएका उनले ओमानसँग १९ रन बनाए। सिरिजअघि ओमानसँग भएको ओडीआई खेलमा अरविन्दले ८९ र ३४ रन बनाएका थिए।
यता, वासिमले ४८ बलमा ७० रनको आक्रामक खेल खेले। उनले ४ चौका र ४ छक्का प्रहार गरे। उनलाई १६औं ओभरको अन्तिम बलमा अभिनाश बोहोराले आरिफ शेखको हातबाट क्याच गराए।
पावर प्लेमा विष्फोटक ब्याटिङको क्षमता राख्ने वासिमले जारी प्रतियोगिताको समूह चरणको खेलमा जमर्नीसँग ५० रनको इनिङ्स खेलेका थिए।
ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा ओमानसँग ४४ बलमा ३ चौका र ८ छक्कासहित ८४ रन जोड्दै आउट भएका थिए।
नेपालसँगको खेलमा उनी १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए।
उनी आउट हुनुपूर्व मोहम्मद उस्मानले १७ रन बनाउँदै क्रिज छोडे। २४ बल खेलेका १ चौका प्रहार गरे। उनलाई १६औं ओभरको पहिलो बलमा अविनाश बोहोराले ठूलो शर्ट खेल्ने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट बनाए।
विशाल लक्ष्य बनाउने कोसिस, तीन विकेट गुम्यो सस्तैमा
युएईले १७औं ओभरसम्म ५ विकेट गुमाएर १४१ रनबनाइसकेको थियो। तर, उस्मान आउट भएपछि युएईले विशाल लक्ष्य कायम गर्ने धुनमा अन्य ब्याटरलाई सस्तैमा गुमायो।
युएईका बासिल हमिद २ र जवर फरीद ११ रनमा आउट हुन पुगे। हमिदलाई १७औं ओभरको पहिलो बलमा मुखियाले विवेक यादवको हातबाट क्याच गराए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिएका थिए। कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए।
४ बलमा १ चौका र १ छक्का प्रहार गरेर ११ रन बनाएका फरीदलाई १७औं ओभरको अन्तिम बलमा मुखियाले नै मल्लबाट क्याच आउट गराए।
कासिफ दाउद ४ रनमा आउट भए। उनलाई १८औं ओभरको पाँचौ बलमा अविनाशले ठूलो शर्ट खेल्ने क्रममा सन्दीपबाट क्याच गराए।
यता, रोहन मुस्तफा र अहमद रजा क्रमश : ९ र ६ रनमा अविजित रहे।
अभिनाश महंगो सावित भए
दायाँ हाते मिडियम फास्ट बलर अविनाश युएईविरुद्धको खेलमा महंगो सावित भए। चार ओभर बलिङ गरेका उनले ३ विकेट लिन ४६ रन खर्चिए।
यता, फास्ट बलर मुखियाले ३ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै ३५ रन खर्चिए।
नेपालका अन्य बलरको भने प्रदर्शन खास रहन सकेन। कप्तान सन्दीपले पनि ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर १ विकेट लिए।
नेपाल समूह ‘बी’ बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो। नेपालले समूह चरणमा घरेलु टोली ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो।
नेपालले तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच पराजित हुने टोलीसँग खेल्नेछ। फाइनल बिहीबार हुनेछ।