जबज कुनै संगठनको सिद्धान्त होईनः भण्डारीको पपुलर स्टेटमेन्ट मात्र


- गोपाल प्रसाद आचार्य /मानवशास्त्री
काठमाण्डौँ । जनताको बहुदलिय जनवाद (जबज) नेपालको कम्युनिष्ट राजनितिको विगत ३ दशकदेखि नियमित व्याज जस्तो प्रायः भएको छ । मदन भण्डारी र जबज यी शब्दावलीहरु विगतका तिन दशकदेखि चुनावी प्रचार, कम्युनिष्ट गृह मन्त्रीको कार्य कुसलताको प्रमाण पत्र तथा समग्रमा नेपाली समाजलाई मुर्ख बनाउनकानिम्ति प्रायः सबै कम्युनिष्ट भनाउँदाहरुको प्यारो शब्दावली बनेको छ । सर्बहारा वर्गको मुक्तिका निमित्त संचालित कथित जनयुद्ध होस् या लामो ईतिहास बोकेको भनिएको अन्य नेपाली कम्युनिष्ट आन्दोलनहरु, सबैको एकल मुद्धा नै यहि पपुलर स्टेटमेन्टमा केन्द्रित भनिए पनि वास्तवमा यी सबै आन्दोनहरुको प्राप्ती प्रायः शून्य नै देखिन्छ ।
पुँजिपती वर्गको हालीमुहालीमा पात्रको मात्र परिवर्तन भएको अवस्था हाम्रो अगाडी स्पष्ट छ । चुनाव जित्नकोलागि र सत्ता टिकाईराख्न मात्र प्रयोगमा आउने जबजको रटानले अब भने नेपाली जनता आजित भएको र यस मानसिकतालाई सम्हाल्न सक्ने हैसियत हालका राजनैतिक कुपात्रहरुमा नरहेको विषय समय–समयमा यीनिहरुले विभिन्न नाममा सामाजिक संजालहरुमा लगाउन खोजेको अंकुशले समेत स्पष्ट पारेको छ । भलै नेपालमा प्रयोग गरिने कुनै पनि सामाजिक संजालमा सरकारले अंकुश लगाउनु अन्तर्राष्ट्रिय कानुनको समेत बिरुद्धमा हुने हुँदा यो कार्य संभव भने देखिँदैन । राजनिति तथा कर्मचारी तन्त्रमा व्याप्त जवाफदेहिता बिहिन र भ्रष्ट चरित्र साथै योजना बिहिन अलपत्र विकास आयोजना नेपाली समाजको नियति नै बनेको छ । यहि विकास र सामाजिक चरित्र नै नेपाली समाजको उत्थान गर्ने जबज हो र यहि नै समाज परिवर्तनको अचुक शुत्र हो भन्ने आभाष नेपाली समाजले गरिरहेको छ भने यसलाई हाम्रो समाजको बहुलठ्ठी पन हो भन्दा अतियुक्ति नहोला ।
कम्युनिष्ट राजनिती गर्नेहरुको शिक्षा र स्वास्थ्यका क्षेत्रको व्यापारिक मोह, धर्मको व्यापार र दशकौँ देखिको समाज परिवर्तनको रट आफैमा एक हाँस्यास्पद विषय बनेको छ जुन आफैँमा बिरोधाभाषी पनि छ । संविधानमा निःशुल्क भनि तोकिएका विभिन्न क्षेत्रमा गरिएको खुल्ला व्यापारीकरण, माफियाहरुले संचालन गरिरहेको सरकार र कर्मजिबी समुदायलाई गरिएको अपमान नै जबजको मूल सिद्धान्त होईन भने नेपालले हाल अपनाईरहेको बाटो जबजको सिद्धान्त विपरित हुन आउँछ ।
१७००० नेपाली नागरिकको कत्लेआमबाट प्राप्त गणतन्त्रले राष्ट्र र नागरिकलाई के दियो? संघियता र धर्म निरपेक्षताले समाजलाई के दियो भन्ने विषयमा हामी आफै भुक्तभोगी नै छौँ । जबजको भाषणमा गर्जिरहँदा राष्ट्रका गौरब गर्न योग्य उद्योग र कलकारखानाहरुको निजिकरण, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार जस्ता नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरुमा राजनैतिक तप्काले साँधेको मौनताले हालका राजनैतिक पात्रहरु समाज सुधार र परिवर्तनको लागि नभई देशलाई गरिबि र अस्थिरताको भूमरीबाट कहिल्यै बाहिर निस्कन नदिने दलालका रुपमा परिचालित रहेको स्पष्ट देखिन्छ ।
सहधर्म–समभावको मूल सिद्धान्तमा आधारित नेपालको राज्य प्रणालीलाई नामेट पार्दै धार्मिक र जातिय द्धन्द्धको सुरुवात गर्ने माओवादले देशमा के कस्ता परिवर्तन ल्यायो? देशमा कतिओटा उद्योग कलकारखाना खोलियो? कति युवालाई विदेशि भूमिको दाशत्वबाट मुक्ति दियो? कति जनताले अधिकार पायो? जस्ता प्रश्नहरुको जवाफ नपाउँदासम्म माओवाद र कम्युनिष्ट क्रान्ति माथि उठेका प्रश्नहरुको अन्त्य हुनेछैन तबसम्म नेपालमा २००७ साल देखि भएका राजनैतिक परिवर्तनहरु देशकालागि नभई अन्य कुनै उद्देश्यकोलागि थियो भन्ने विषय स्पष्ट हुन्छ ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि तन्त्रहरु समग्रमा लुटतन्त्रको रुपमा परिभाषित भईसकेको अवस्थामा जबजको खोक्रो आदर्शलाई मागिखाने भाँडो बनाएका कम्युनिष्टहरुले आत्म समिक्षा गर्दै जबज वास्तवमै समाज विकासको सिद्धान्त हो भनि प्रमाणित गर्न जरुरि देखिन्छ । अन्यथा चाहेर नचाहेर मोबाईल फोन र ईन्टरनेटको व्यापारिकरणकोलागि संविधानमा लेखिएको सुचनाको हक र वाक स्वतन्त्रता हालका कथित कम्युनिष्ट तथा समग्र असफल राजनितिको लागि ठुलो चुनौति हुनेछ ।
गोपाल प्रसाद आचार्य
मानवशास्त्री