नेपालको लोकतान्त्रिक यात्राः प्रयोगशाला–भाग दुई


- जिपी आचार्य (मानवशास्त्री)
काठमाण्डौँ । बहुलठ्ठी पन, जाल झेल अनि तिकडमबाजी आजको नेपाली समाजमा जिउनकोलागि अत्यावश्यकीय न्युनतम योग्यता नै हुन् भन्दा सायदै नाजायजीको भारि बोक्नु नपर्ला । राजनितीको लाजनैतिक चरित्र र वाउसेजोरीमा चिर निन्द्राको कालो पर्दापछाडी उज्यालो खोज्नमै तल्लिन नेपाली समाज साहेद ईतिहासको पुनरावृत्तात्मक प्रयोगशालाको अर्को अणु बन्ने गैरजिम्मेवार मौनता साँधेर अनिश्चित भविश्यको सुनिश्चिततामा विश्राम लिईरहेको छ भन्दा अतिशःयुक्ति नहोला ।
सत्ता र शक्तिलाईनै जिवनको अन्तिम लक्ष्यको रुपमा हेर्ने गैर जिम्मेवार शासक र प्रशासकको मिश्रणले सृजना गरेको तरल समाज आज पनि ओरालो बाटो नै भएपनि बग्नु छ यानकि बाँच्नु मात्रै जिवनको एकमात्र लक्ष हो भन्ने भ्रमित मौनतामा नेपाली समाज रोमलिइरहेको छ । भनिएका शब्दाबलीहरुमा १०४ वर्ष लोमो शासनशत्ताको लगाम थामेका अनि अलोकतान्त्रिक मूल्य मान्यताका हिमायतिका रुपमा चिनिएका ईतिहाँसका शासक देखि वर्तमान राजनैतिक व्यवस्थाको भ्रुणको रुपमा बि.संं. २००७ सालमा स्थापित प्रजातान्त्रीक बिचारधाराहरुले ईतिहासका पानामा परिवर्तित शासक र व्यवस्थाका नाम बाहेक अन्य तात्वीक सामाजिक र व्यवहारिक परिवर्तन समाजलाई दिन सकेन ।
समाजलाई निश्चित वर्गले आफ्नो बपौति बनाए, सबैको समान अस्तित्व आवश्यक छ भन्ने राजतन्त्र फाल्दा देखि १७००० नेपालीको ज्यान जानेगरि समाजलाई तहस–नहस पारेको हालका कम्य्निष्ट धारहरु अनि प्रजातन्त्रका हिमायतीका हालका नेतृत्व राणा एण्ड देउवा कम्पनीहरुले समाजमा स्थापित गरेको प्रजातन्त्र र लोकतन्त्रलाई २००७ पछाडी भोगिआएका बेथिति आफ्नै अँगाडी खुलेआम देखिरहँदा यसैलाई मानिदिने होडबाजिको तिन (३) पुस्ता देख्दा हामी नेपाली नेपाललाई वास्तवमै प्रयोगशाला बनाईराख्नका निम्ति मन्जुर नै छन् जस्तो आभास हुन्छ ।
महामारीका नाममा राज्यले शिक्षा क्षेत्रमा गरेको गैर जिम्मेवार, निकम्मा र लाचार व्यवहार जहाँ मात्र विद्यालय खुलाउने वा नखुलाउने बाहेकका कुनै पनि जिम्मेवारी सरकारले लिएन । कयौँ बिद्यालयहरु होम सेन्टरका कारण सबै विद्यार्थी पास भए र हुनेछन् भन्दै नतमस्तक देखिए । यद्यपी कयौँ विद्यालयहरुले आफ्नो तर्फबाट सक्ने स्तरमा शिक्षण सिकाई कृयाकलाप संचालन गरे । कयौँ सरकारी विद्यालयहरुले विद्यार्थी बिना शिक्षकहरुलाई विद्यालय बोलाएर घाम र सितलु तपाएर पठाए । कयौँ विद्यालयहरुले नियमित शिक्षण सिकाई कार्य सुरु गरेको लगभग वर्ष भईसक्यो । अब यीनिहरुको समान सिकाई स्तर कसले हेर्ने हो त्यसको टुँगो छैन ।
शिक्षा सम्बन्धि ऐन तथा नियमको धज्जी उढाउँदै टोलटोलमा किराना पसल सरि खोलिएका व्यापारिक खुद्रा शिक्षाका सटरहरु पनि सधै यसरिनै बिरोध र सहमतिका नाममा चलिरहेछन् अनि समाज पूर्ण रुपमा मुकदर्शक भईरहेको छ । यसले समाजलाई कुन दिशातिर लैजान्छ कसैको चासोको विषय कहिले बनेन ।
नवधनाड्यका विद्यालयहरुले संभव हुने सम्मको दुरीबाट यातायात व्यवस्था नै तहस–नहस हुनेगरी घण्टौंको यात्रामा विद्यार्थीहरु ओसार–पसार गरेको देख्दा लाग्छ उनिहरुले पढाएका विद्यार्थीहरु राष्ट्रका निम्ति उत्पादन हुन्छन् र शिक्षा दिने ठेक्का उनिहरुको मात्र हो । तर उनिहरुले उत्पादन गरेका बालबालिकाहरुको विदेशमा अर्बौँमा सौदाबाजिमात्र हुन्छ भन्ने विषय देखेर समेत नदेखे जस्तो गर्ने समाज कुन दृष्टिकोँणबाट चित्त बुझाउन मिल्ले छ र समाज मौन छ यो जवाफ दिने जिम्मा आम जनताकै होला ।
महामारिका नाममा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिएर दोब्बर पुग्यो । न त यो विषय खाद्य सम्बन्धि निकायले थाहा पायो न त उपभोक्ता कर्मीले नै त्यति चासो राखे । यस्ता विषयमा मानवअधिकार आयोगले विषय उठान गर्ला भन्ने विषय त हाँस्यास्पद नै भईहाल्यो । प्रत्येक गल्लीका १५ वटा किराना पसलमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य १५ थरिको हुन्छ । न त उपभोक्तालाई गुणस्तरको बारेमा थाहा छ, न त मूल्यकाबारेमा । अझैपनि समाजमा सुशासनका कायम गर्ने कोशिषमा छौँ भन्दै जनताहरुलाई पशुतुल्य झुठका पुलिन्दासहित मुर्ख बनाउने क्रम भने जस्ताको त्यस्तै नै छ ।
संघियतालाई देश टुक्र्राउने शुत्रको रुपमा व्याख्या गर्दा प्रतिगामीको बिल्ला भिडाउने आँठे राजनितीले कहिले पनि जनताको जन जिविकाको बारेमा कुनै ठोस कार्य गर्न नसकेको दशकौँ भईसक्यो । बर्षौँ देखि महानगर घोषित गरेर जनतासँग कर चुसिराखेका जुके स्थानिय निकायमा सडक, ढल निकास र खानेपानी लगायतका न्युनतम विकासका पुर्वाधार छैनन् भन्दा अचम्म लाग्ला तर उपत्यकाका विभिन्न महानगरको अवस्थाको मिहिन दृष्यावलोकनले हामी सबैलाई यस विषयमा स्पष्ट छनक दिन सक्दछन् तर पनि नेपाली समाज दंग परेर गणतन्त्रका बडामहाराजधिराजहरुको निगाहा बक्सको प्रतिक्षामा रहिरहेको देख्दा नेपाली समाज प्रायः मृत जस्तो आभास हुन्छ ।
यी त केहि प्रतिनिधी घटनामात्र हुन् । यस्ता विषयहरु समाजका प्रत्येक क्षेत्रमा व्याप्त छन् । तर पुँजीवादले व्याप्त मात्र भौतिकवादको सिकार नेपाली समाज २१औँ शताब्दिमा समेत २ छाक पेटभरि खान र लाज छोप्न सक्न्लाई नै सबैभन्दा ठुलो सफलताको रुपमा हेर्ने ठूलो नेपाली समाजको हिस्सा कहिलेसम्म नेपालको प्रयोशालाकरणको मतियारी गरिरहनेछन् त्यो त समयले नै देखाउला । लोकतन्त्रको नाममा मंचित यो नाङ्का नाटकले नेपाललाई कुनै निश्चित दिशा प्रदान नगर्ने विषय भने अवश्यम्भावि नै छ ।