निकम्मा मेयरः बाजा बजाएर होईन सामान्य जनतालाई लगाउने कानुन लगाएर उठाऊ कर


- जीपी आचार्य \मानवशास्त्री
काठमाडौँ । गाईजात्राको पूर्व सन्ध्यामा काठमाडौँका केहि गल्लीका आलिसान महलहरुमा पञ्चेबाजाको आवाज गुन्जियो । शहरमा कुनै साँस्कृतिक पर्व भएको जस्तो आभाष गराउने बाजा भने हाम्रो देशको निकम्मा नेतृत्वको खिल्ली उढाउनकोलागि बजिरहेको थियो । उक्त बाजा न त साँस्कृतिक सम्पदाको संबद्र्धनकोलागि नै थियो न त कुनै उत्सबकोलागि ।
उक्त बाजा अरबौँको कर उठाउने उद्देश्यले बजाईएको थियो भन्दा तपाईँ हामीलाई अचम्म लाग्नु स्वभाविक नै थियो । कहिले कर उठाउन माईकमा चर्को आवाज बजाईयो त कहिले पञ्चेबाजाको आवाज घन्काईयो । तथापि कर कति उठाईयो भन्ने विषय भने आज सम्म गर्भमै छ र संसय पनि कतै कर संकलन गर्भमै तुहिन्छ कि?
नेपालमा कर उठाउने निकाय छन्, नेपाल प्रहरी छ र त्यसले पनि नपुगेर महानगरले आफ्ना चुनावि सहयोगिहरुको अर्को झुण्ड समेत नगर प्रहरीको नाममा खडा गरेको छ ।
सामान्य नागरिकले कर तिर्न केहि समय मात्र बिलम्ब हुँदा सार्वजनिक सुचना नै प्रकाशन गर्ने र कर नतिरे विद्युत, खानेपानी लगायतका सार्वजनिक सेवाबाट बञ्चित गर्ने सम्मका कानुनी बाटो अपनाउने महानगरले करोडौं राज्यको कर हिनामिना गर्ने घरानाहरुका बिरुद्धमा न त मुद्धा दायर गरेर पक्राउ गर्न सक्छ न त उनिहरुको खानेपानी र बिजुली नै काट्न सक्छ ।
उल्टै जनताको आँखामा छारो हाल्न सस्तो लोकप्रियताको शुत्र (पञ्चेबाजा) को गाईजात्रा मञ्चन गरिरहेछ । यसै बिचमा काठमाडौँ महानगरबासीले यस्तो नेतृत्वबाट के आशा गर्ने भन्ने पेँचिलो प्रश्न उब्जिएको छ ।
काठमाडौँलाई धुलो मुक्त बनाउँछु, मेट्रो कुदाउँछु भन्ने मेयरको यस्तो हविगत देख्दा लाग्छ नेपाली जनताहरु पनि नेतृत्व जस्तै निकम्मा भइसकेका छन् ।
आफ्नै अगाडी मच्चिएको लुट र जनतालाई गरिएको रैतिको व्यवहारलाई मुकदर्शकको रुपमा हेर्दै आफैलाई दुत्कार्ने नेपाली समाज हाल सम्म पनि सतिलाई दोष दिँदै स्थानिय सरकारका नाममा लुट धन्दा मच्चाउने आफ्नै अगाडी उभिएका दलालहरुलाई स्विकार गर्नु आफैमा हाँस्यास्पद र लाजमर्दो अवस्था हो ।