निर्वाचनमा जुट्न उपप्रधानमन्त्रीको निर्देशन


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन स्पष्ट गर्नुभयो । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।
नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गर्नुभएको हो । उनले भने, “औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।” पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए ।
पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उनले भने “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।”
पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उनले बताए । आजको परिणामको कारण पार्टी एकता हुँदाको समयमा रहेको विषाक्त भ्रूणको हो उनले भने । प्रधानमन्त्रीविरुद्ध अयोग्य भनेर अभियोग पत्र ल्याएपछि विग्रहको बाटोमा लागेका कारण यो समस्या आएको उनले बताए।
राजनैतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उनले अहिले एकताको जस्तो आकर्षण हराएको बताए। तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उहाँले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गर्नुभयो ।
सो अवसरमा ५९९ जनाको समिति घोषणा गर्दै शपथग्रहण गराइएको थियो ।