पद सम्हालेको केही घन्टामै बाइडेनले उल्टाए ट्रम्पका नीति


अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेको केही घन्टामा नै जो बाइडेनले ट्रम्प प्रशासनका कयौं निर्णयलाई उल्टाएका छन् ।
उनले ट्रम्प प्रशासनका नीति उल्टाउँदै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने कोशिस गरेका छन्।
“हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।
उनले कोरोनाभाइरसको महामारी अन्त्यका लागि कामहरु तीव्र बनाउन संघीय काम कारबाही छिटो बनाउन भन्दै कार्यकारी आदेशहरू जारी गरेका छन्।
उनले जारी गरेका अन्य आदेशहरूले ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याउनेछ।
कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पु¥याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’
उनको आदेशमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने र अमेरिका पनि डब्लुएचओबाट फिर्ता हुने कार्य रोकिने, भाइरस विज्ञ डा.एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने, कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने उल्लेख गरिएको छ ।
यसैगरी सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गराइनेछ भने आगामी एक सय दिनसम्म मास्क लगाइरहन आग्रह गर्दै ‘१०० दिने मास्क चुनौती’ अभियान सुरु गरिनेछ ।
यसैगरी सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने भएको छ भने विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिनेछ। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले सो परियोजनाको लामो समयदेखि विरोध गर्दै आएका थिए ।
बाइडेनले ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरेका छन् भने मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गर्ने कार्य बन्द गरिदिएका छन् ।