सत्ताका सुलसुले, बाहिरका मृत भुतप्रेत अनि नेपालको संबृद्धि


साहेदै हालको संघिय गणतान्त्रिक समाजमा बाँचिरहँदा राजतन्त्र, पञ्चायती व्यवस्था, राणा शासन लगायतका विभिन्न व्यवस्थाका बारेमा बोल्नु वा लेख्नुलाई सान्दर्भिक मानिदैन । तर नेपालीले बिर्सनै नहुने एउटा वास्तविकता के हो भने निरंकुश भनिएको राजतन्त्रले नेपालमा १०० वर्ष भन्दा लामो समयसम्म अनवरत रुपमा राज्य संचालन गरे । चिनले विश्व शक्ति राष्ट्रका अगाडी आफ्नो उपस्थिति जहिले देखि देखाउन सुरुवात गर्यो, तब नेपालमा प्रजातान्त्रिक, लोकतान्त्रिक, गणातान्त्रिक, समाजवादी लगायतका विभिन्न अनुहारहरु नेपालमा देखिन थाले । राष्ट्रको एकिकरण, सिमा व्यवस्थापन, देशको आन्तरिक उद्योग, रोजगारी, समयानुकुल भौतिक विकास लगायतका उल्लेखनिय विकासहरु पनि २०४६ सालसम्म नै भए । त्यस पछाडी भएका विकासहरु प्रायः नातावाद, कृपावाद र दलाल पुजिवादको सिकार हुँदै गए जसको परिणति आज देश माग्ने भएको छ ।
हालको राजनैतिक परिदृष्य हेर्दा सत्ताधारी दलहरु गैर राजनैतिक र प्रतिपक्ष दल समग्रमा मौनधारीत झुण्डको रुपमा प्रतिविम्बित भएको छ । सडकमा ढुङ्गा मुढा गरेका, आफ्ना विरोधिहरुको टाउको छप्काएका तथा सैन्य जत्थाको माध्यमबाट प्रायः निहत्था आफ्ना बिरोधिलाई बन्दुकको तातो गोलि हानेर सत्ता कब्जा गर्नेहरु आज पनि चुनावको नाममा गुण्डागर्दी गर्दै सत्ता कब्जाको जुङ्गे बाउसेजोरी खेलिरहेको हालको परिस्थितिमा सडकमा देखिएका आवाजहरुलाई सत्तामोहका सुलसुलेहरुले भुतप्रेतको संज्ञा सहित अतालिएको मानसिकता समेत छरपष्ठ भईरहेको छ ।
ब्रिटिस गोर्खा आर्मीको भर्तीको बिरुद्धमा युद्ध छेडेको नेपाल कम्युनिष्ट पार्टी आज लगभग चालिस लाखको युवा जनशक्तीलाई वैदेशिक राजगारको नाममा तस्करि गरिरहँदा सम्म पनि संबृद्धिका सपनाका तानावानाहरु जपिरहेका सत्ताधारीहरुले दिन खोजेको संबृद्धि सत्ता बाहिरका आवाजहरुलाई मृत आत्माको संज्ञाले भन्दा आफैले जिम्मा लगाएका राष्ट्रका नाममा रहेका उद्योग धन्दाको पुनर्बहालि गर्दै रोजगारीको सृजना गर्दा मात्र साकार होला ।
विकासमा राज्यको कर प्रणालीबाट उठेको कर भन्दा बैदेशिक दान र ऋणले तुलनात्मक रुपमा बढी योगदान पुर्याएको देश, शिक्षा र स्वास्थ्यमा उल्लेख्य व्यापार, चालु खर्च विकास खर्चको तुलनामा बढी साथै विकास बजेट खर्च समग्रमा ३० प्रतिशत भन्दा नउक्लिएको र देशको उत्पादन प्रायः शुन्य भएको देशले संमृद्धिको सपना देख्नु साहेदै मुर्ख मानसिकता होला । तर पनि लाखौँको संख्यामा गुरिल्लाको झुण्ड पालेका राजनैतिक दलहरुमा सत्ता र शक्तिको उन्मात हुनुलाई अस्वभाविक भने अवश्य मान्न सकिँदैन ।
विकासबाट भन्दा वाक युद्धबाटै सत्ता र शक्तीको रजाँईमा मस्त नेपालको राजनैतिक चरित्र देख्दा आम नेपाली जनमानसमा भनिएको गणतन्त्र, लोकतन्त्र, संघियता लगायतका शब्दार्थहरुको औचित्यता पुष्ठी हुन नसकेको स्पष्ट देखिन्छ । बेरोजगार युवालाई २ छाकको जोहो गर्ने जिम्मा लिएको राज्य प्रणालीले पार्टीको झण्डा र झोला बोकाएर भिडभाड र दंगाफसाद गर्ने राजगारी दिएको देशमा सत्ताधारी सुलसुलेहरुको यो नियतीको अन्त्य भने अति आवश्यक अनि सान्दर्भिक देखिन्छ ।