अबको हाम्रो युग डिजिटल अर्थतन्त्रको : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल आर्थिक कारोबार आजको आवश्यकता भएको बताउनु भएको छ । कोरोना महामारीका बेला सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थामा डिजिटल आर्थिक कारोबारले महत्वपूर्ण मूमिका खेलेको समेत उहाँले चर्चा गर्नुभयो ।
शनिबार ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बर्तमानको विश्व डिजिटल अर्थतन्त्रको खोज र विकासका लागि लागि परिरहेको उहाँले बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो- ‘डिजिटल क्षेत्रमका लगानी बढिरहेको छ, नयाँ आविष्कारको प्रयत्न पनि भइरहेका छन् ।’
प्रधानमन्त्री ओलीले अबको हाम्रो युग डिजिटल अर्थतन्त्रकै युग भएको बताउनुभयो । फोनपे डिजिटल इकोनोमी कन्क्लेभको जस्तो कार्यले मुलुकको अर्थतन्त्र निर्माणमा ईंटा थप्ने काम गरेको बताउनुभयो । यस्ता कार्यक्रमलाई सरकारले समेत स्वामित्व लिने र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । डिजिटाइजेसनको हालसम्मको यात्रामा नीजि क्षेत्रको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
‘पहिलो पुस्ताका सूचना प्रविधि व्यवसायीहरूले शुरू गरेका फिनटेक कम्पनीहरूले नेपालीहरूलाई मोबाइल वालेटमा अभ्यस्त बनाउँदै लगेका छन् । साथै, नेपालीहरूलाई क्यासलेस ट्रान्जेक्सन (नगद रहित कारोबार) बारे सिकाउनुका साथै डिजिटल बैकिङतर्फ डोर्याएका छन् ‘ – उहाँले भन्नुभयो ।
बिशेष त कोरोना महामारीका बेला डिजिटल माध्यमहरुले मानिसहरुलाई एक अर्कामा जोडेको बताउनुभयो । यसका लािग डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु पक्षहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सरकारका बिभिन्न निकायहरुले पनि डिजिटल माध्यम मार्फत कारोबार गरेर नागरिकहरुलाई सहजता दिन लागि परिरहेको उहाँले सुनाउनु भयो ।
जस्तै मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यलयहरुको लागि सरकारले डिजिटल कारोबारको सुरुवात गरेको उहाँले बताउनु भयो ।