आइफोन-१२ सिरिजको प्रि-बुकिङ सुरू, नेपालमा कहिलेदेखि हुन्छ बिक्री ?


काठमाडौं। नेपालमा एप्पलको आधिकारिक वितरक कम्पनी जेन नेक्स्टले आइफोन-१२ सिरिजको प्रि-बुकिङ सुरू गरेको छ। अक्टोबर १३ मा ग्लोबल लञ्च भएका आइफोन-१२ सिरिजका आइफोन-१२, आइफोन-१२ मिनी, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको बिक्रीका लागि आधिकारिक स्टोरहरू ओलिज स्टोर, फ्युचरवर्ल्ड र इभो स्टोरबाट बुकिङ सुरू भएको हो।
आजदेखि बुकिङ सुरू भए पनि खरिदका लागि अझै १८ दिन कुर्नुपर्ने जेन नेक्स्ट प्रालिका सेल्स एक्जुकेटिभ उदय बज्राचार्यले जानकारी दिए।
“आज (२७ नोभेम्बर)देखि हामीले आधिकारिक रिसेलर स्टोरहरूबाट आइफोन-१२ सिरिजका चारवटै स्मार्टफोनको प्रि-बुकिङ सुरू गरेका छौं,” उनले देखापढीसँग भने, “ओलिज स्टोर, इभो स्टोर र फ्युचरवर्ल्डबाट प्रि-बुकिङ सुरु गरेका छौं। अहिलेसम्म सामान नेपालमा आइसकेको छैन। तर, हामीले डिसेम्बर ११ देखि बिक्री सुरू गर्ने योजना बनाएका छौं।”
आइफोन-१२ र आइफोन-१२ मिनी
यी आइफोन-१२, आइफोन-१२ मिनी, दुवै मोडलमा एप्पलको ए १४ बायोनिक प्रोसेसरको प्रयोग गरिएको छ। यो ५ एनएम प्रोसेस बेस्ड चिप हो र पफर्मेन्सका आधारमा यसलाई ए १३ भन्दा राम्रो मानिन्छ।
यी नयाँ आइफोनमा एडभान्स्ड टेक्नोलोजीसँगै नोस्टाल्जिया पनि थपिएको छ। किनभने, यी दुई मोडल पहिलेका आइफोन-५ र ५ एससँग मिल्दो-जुल्दो डिजाइनमा निकालिएको छ।
नेपालमा आइफोन-१२ को ६४ जिबी भेरियन्टको मूल्य १ लाख ३४ हजार, १२८ जिबीको १ लाख ४२ हजार, १ लाख ५८ हजार हुनेछ।
आइफोन-१२ को स्पेसिफिकेसन्स
डिस्प्ले- यसमा १२०० निट्स पिक ब्राइटनेसको साथमा ६.१ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले दिइएको छ।
प्रोसेसर- यसमा ए १४ बायोनिक प्रोसेसर छ। यो ५ एनएम चिपसेट राम्रो पफर्मेन्स दिने प्रोसेसर हो। साथै यसले ५ जी पनि सपोर्ट गर्छ।
रियर क्यामेरा- यसमा डुअल क्यामरा सेटअप दिइएको छ। यसमा एउटा रियर १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रा-वाइड एंगल क्यामेरा राखिएको छ।
सफ्टवेयर- आइओएस १४
कलर भेरियन्ट- यो नयाँ आइफोन कालो, सेतो, रातो र निलो कलरमा उपलब्ध हुनेछ।
एप्पलले यो वर्ष सार्वजनिक भएका नयाँ मोडलका लागि म्यागसेफ वायरलेस चार्जिङ सिस्टम पनि समावेश गरेको छ।
आइफोन-१२ मिनीमा ५.४ इञ्च स्क्रिन, ५ जी सपोर्ट, ए १४ बायोनिक प्रोसेसर, ओएलइडी स्क्रिन, लो-लाइटका लागि नयाँ क्यामेरा, आइओएस १४, १२ मेगापिक्सल डुअल क्यामेरा सेटअप र म्यागसेफ चार्जिङ सपोर्ट दिइएको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स
आइफोन-१२ प्रोमा १२८ जिबीको मूल्य १ लाख ७५ हजार, ५६ जिबीको १ लाख ९३ हजार र ५१२ जिबीको २ लाख २७ हजार नेपाली रूपैयाँ पर्नेछ।
तर, आइफोन-१२ प्रो म्याक्सको सुरूआती मूल्य १०९९ अमेरिकी डलर राखिएको छ भने नेपालमा उल्लेख गरिएको छैन।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स दुवै मोडलमा ५ जी सपोर्ट दिइएको छ। आइफोन-१२ प्रोमा ६.१ इञ्चको ओलेड डिस्प्ले छ र आइफोन-१२ प्रो म्याक्समा ६.७ इञ्चको ओलेड डिस्प्ले नै राखिएको छ। यी दुवै मोडलमा डिस्प्लेको साइज फरक छ।
आइफोन-१२ प्रो मोडलमा स्टिलको डिजाइन छ जबकि आइफोन-१२ मा आलुमिनियमको प्रयोग गरिएको छ। आइफोन-१२ प्रो चार कलर भेरियन्टमा उपलब्ध हुनेछ- ग्रे, स्टेनलेस स्टिल, गोल्ड र ब्लू।
आइफोन १२ सिरिजका सबै स्मार्टफोन्समा एप्पल ए १४ बायोनिक चिप दिइएको छ। कम्पनीका अनुसार कुनै पनि स्मार्टफोनमा दिइएकामध्ये सबैभन्दा छिटो र उत्कृष्ट पर्फर्मेन्स दिने प्रोसेसर हो।
एप्पल ए १४ बायोनिक पहिलो मोबाइल प्रोसेसर हो जुन ५ एनएम प्रोसेसबाट बनाइएको छ। यसमा ६ सीपीयू कोर र ४ जीपीयू कोर दिइएको छ।
एप्पलले यो चिपसेट अन्य कुनै स्मार्टफोन्समा भएकाभन्दा ५० प्रतिशत छिटो भएको दाबी गरेको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्समा लिडार सेन्सर दिइएको छ। यो अग्मेन्टेड रियलिटी इफेक्ट्सका लागि प्रयोग गरिनेछ। कम प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पनि यसको प्रयोग गर्न सकिनेछ।
आइफोन-१२ सिरिजको ड्युरेबिलिटी बढाउनका लागि एप्पलले सेरामिक शिल्ड टेकको प्रयोग गरेको छ। कम्पनीका अनुसार खल्तीबाट झर्यो भने पनि यो फुट्ने सम्भावना कम हुन्छ। अन्य कम्पनीको तुलनामा यो फोन दह्रो बनाएको कम्पनीले दाबी गरेको छ।
आइफोन-१२ प्रोमा ट्रिपल रियर क्यामेरा दिइएको छ। क्यामेरा मोड्युल आइफोन-११ प्रो जस्तै देखिन्छ। १२ मेगापिक्सेलको वाइड, टेलिफोटो र अल्ट्रावाइड क्यामेरा दिइएको छ।
एप्पलले यो मोबाइलको क्यामेराले कम प्रकाशमा पनि २६ प्रतिशत उत्कृष्ट फोटो खिच्नसक्ने बताएको छ।
आइफोन-१२ प्रो म्याक्समा दिइएको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हो, जसमा ६५ एमएम फोकल लेन्थ पनि छ। कम्पनीले भनेको छ- यसमा अप्टिकल इमेज स्टेबलाइजेसनको सपोर्ट छ र यो ८७ प्रतिशत कम प्रकाशमा पनि फोटो खिच्न सक्छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको साथमा मेगासेफ वायरलेस चार्जिङ चार्जिङ सिस्टम पनि समावेश गरिएको छ। यसअघि म्याग्नेट अट्याच्ड चार्जरको प्रयोग हुँदै आएको थियो। जसरी एप्पल वाच चार्ज गरिन्थ्यो, अब त्यसरी नै आइफोन पनि चार्ज गर्न सकिने भएको छ।