नेप्से परिसूचक कीर्तिमाननजिक, आज ६४ अंकले बढ्यो


काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ।
कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकको उछाल आएको हो।
कारोबार सुरु भएको दुई घन्टामै ३० अंकभन्दा माथि र १ बज्दा ५० अंकको हाराहारीमा बढिसकेको थियो।
त्यसपछि पनि निरन्तर उकालो लाग्दै बन्द हुँदासम्म १,८७४ अंकमा पुगेर रोकिएको छ। यो अंक यसअघि नेप्सेले कायम गरेको १,८८१ अंकको कीर्तिमानभन्दा ७ अंकले मात्रै कम हो।
यस क्रममा आज एक करोड ४६ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।