न्हुदँ समारोह समिति ११४१ गठन, कार्यक्रमबारे निर्णय पछि मात्रै


काठमाडौँ। न्हुदं अर्थात् नेपाल संवत् नयाँ वर्ष ११४१ मनाउनका लागि रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत् न्हुदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन गरिएको छ।
कोरोना महामारीका कारण नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४१ मनाउन समारोह समिति गठनका लागि भेला बोलाउने अवस्था नरहेकाले पुरानै समारोह समिति ११४० का अध्यक्ष तथा अन्य प्रतिनिधिलाई निरन्तरता दिँदै यसपटक समारोह समिति गठन गरिएको हो।
नेपाल संवत् ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवाः समुदायका अगुवाको सल्लाहबमोजिम यसरी पुरानै समितिलाई निरन्तरता दिने निर्णय ने.सं. ११४० कौलाथ्व द्वादशी (कार्तिक १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो।
“यस समितिमा समाविष्ट सम्बन्धित सङ्घसंस्थाले आआफ्ना प्रतिनिधि हेरफेर गर्न सक्ने तथा गत वर्ष समाविष्ट नरहेका सङ्घसंस्थाले यस वर्षका लागि प्रतिनिधि पठाउन सक्ने बैठकबाट निर्णय भएको जानकारी गराउँदछु,” पुनर्गठित समितिका अध्यक्ष महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “कोरोना महामारी यथावत् रहेको अवस्थामा नेपाल संवत् ११४१ को नव वर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा तथा सङ्घसंस्थाहरूसँग छलफल गरी चाँडै निर्णय लिइनेछ।”
नेपाल संवत्को नववर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानका रूपमा नेवाः समुदायले मनाउँदै आएको छ। नेपाल संवत् आन्दोलनका प्रवर्तक दिवंगत पद्मरत्न तुलाधरलाई सम्झँदै उनले देखाएका सांस्कृतिक एकता र राष्ट्रियता प्राप्तिका मार्गमा लाग्ने सङ्कल्प गर्ने दिनका रूपमा यस पर्वलाई लिन पनि समितिले आह्वान गरेको छ।
“देशका जनताका ऋण मोचनपछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवत्को आन्दोलनले सफलता प्राप्त गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “यद्यपि सरकारी कामकाजमा नेपाल संवत्लाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवत्का सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्ने, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताका आधारमा सरकारी व्यवहार गराउने कार्यका लागि अझै यस आन्दोलनको आवश्यकता रहेको छ।”
समारोह समितिले देशैभरि एउटै नारा र एउटै अभियानअनुसार नेपाल संवत्को नववर्ष मनाउन पहल भइरहेको पनि जनाएको छ।
रासस