आविष्कार नै आर्थिक समृद्धिको आधार : महावीर पुन


काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनुपर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको ‘लिडिङ नेपाल थ्रु इनोभेशन’ शीर्षकको बेविनारमा बोल्दै डा. पुनले नेपालले आविष्कारलाई समृद्धि हासिल गर्ने माध्यमको रूपमा उपयोग गर्नुपर्ने बताए।
मदन भण्डारी मेमोरियल कलेजले हरेक साता फरक-फरक विषयमा वेबिनार आयोजना गर्दै आएको छ। हिजो आयोजित कार्यक्रमको २५ औं श्रृङ्खलामा डा. महावीर पुनले अतिथि वक्ताका रूपमा प्रस्तुती दिएका थिए।
“कतिपय युवाहरू राष्ट्रिय आविष्कार केन्द्रमा ठूला र शक्तिशाली हातहतियार बनाउनुपर्यो भनेर पनि आउने गरेका छन्”, पुनले भने, “नेपालको प्राथमिकता अहिले त्यसतर्फ होइन। हतियारको माध्यबाट मात्रै शक्तिमा उदाएको देशको अस्तित्व छोटो समयको लागि मात्रै हो। विभिन्न बस्तुको आविस्कारबाट देशलाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ।”
देश आर्थिक रूपमा सम्पन्न भए मात्रै भौतिक पूर्वाधारको विकास गर्न सकिने जनताले पनि सुख प्राप्ति गर्ने उनले बताए।
“शुरूमा म सामाजिक सेवाको माध्यमबाट देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा विश्वास गर्दथे। तर, त्यसरी मात्रै हुँदो रहेनछ। आविस्कारबाट समृद्धि आउँछ भन्ने थाहा पाउन मलाई २० वर्ष लाग्यो। तर, अबका युवाहरू यी सामान्य कुरामा अलमलिन आवश्यक छैन्”, पुनले भने।
नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिनका लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरिएको उनले बताए।
“युवाहरूको कुनै नवीन योजना वा सोच बन्यो भने त्यसको परीक्षणको लागि उपयुक्त ठाउँ छैन। नेपालमा अध्ययन गर्ने भनेको जागिर खानकै लागी भन्ने मानसिकता छ”, डा. पुनले भने, “व्यक्तिहरूमा भएको नविन सोच कार्यन्वयनका लागि ठाउँ दिनकै लागि राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरिएको हो।”
राष्ट्रिय आविष्कार केन्द्रले नयाँ आइडिया भएका व्यक्तिहरूको सोच कार्यान्वनयको सबै जिम्मा लिएर काम र पैसा समेत दिने उनले बताए।
“कसैसँग नविन सोच छ र त्यसलाई उपयोग गरेर नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ भने उहाँलाई आवश्यक सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउँछ। आर्थिक अवस्था कमजोर भएकै कारण नवीन सोच कार्यान्वयनमा समस्या छ भने त्यस्ता व्यक्तिहरुलाई खान बस्न लगायतकै सुविधा आविस्कार केन्द्रले उपलब्ध गराउँछ”, उनले भने।
आविष्कारले आर्थिक विकास गराउने र त्यसैले रोजगारी सिर्जना पनि गर्ने भएकाले आविष्कार कुनै पनि देश समृद्धिको महत्वपूर्ण आधार भएको उनले बताए।
“कुनै पनि चिजको प्रोटोटाइप बनाउन सहयोग गर्छौं। प्रोटोटाइपले राम्रोसँग काम ग¥यो भने त्यसलाई बजारमा लैजान सकिने गरी कमर्सियल प्रोडक्ट बनाउन पनि आविस्कार केन्द्रले नै सहयोग गर्छ”, डा. पुनले भने, “त्यस्ता उत्पादनको बौद्धिक सम्पतिको अधिकार पनि नयाँ आइडिया ल्याउने व्यक्तिकै हुन्छ।”
इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ।
आविष्कार मौलिक हुनुपर्ने र राष्ट्रिय आविष्कार केन्द्रले पनि ‘इनोभेसन’मा नै बढी जोड दिएको उनले बताए। “हामीले ‘इन्भेन्सन’मा होइन ‘इनोभेसन’मा नै जोड दिएका छौं। इनोभेसनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।”
राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएकाले राष्ट्रिय आविस्कार केन्द्रलाई ‘जनताको आविस्कार केन्द्र’ भने पनि हुने उनले बताए।
राष्ट्रिय आविष्कार केन्द्रलाई विश्वभर रहेका नेपालीहरुले अहिलेसम्म १३ करोड रूपैयाँ सहयोग गरेको उनले बताए। कोरोना महामारी शुरू भए यता मात्रै तीन करोड सहयोग प्राप्त भएको पुनले जानकारी दिए।
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीको उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वाव संकलन बुथ, विभिन्न अस्पतालको भेन्टिलेटर मर्मत लगायतको १० प्रकारको काम गरिरहेको उनले जानकारी दिए।
आगामी दिनमा आविस्कार केन्द्रलाई आर्थिक हिसाबले सक्षम र दिगो बनाउनको लागि सफ्टवेयर कम्पनी खोल्ने काम अगाडि बढाइएको पनि उनले बताए। त्यसबाहेक, अदुवाको जुस बनाएर बिक्री गरी आर्थिक उपार्जनको काममा पनि ध्यान दिइएको उनले बताए।
काठमाडौंको नयाँ वानेश्वरमा रहेको मदन भण्डारी मेमोरियल कलेजले अतिरिक्त शैक्षिक क्रियाकलाप अन्तर्गत विविध विषयमा यस्ता अन्तरक्रिया आयोजना गर्दै आएको छ।
कोरोना महामारी शुरू भएयता शैक्षिक गतिविधि प्रभावित भएपछि कलेजको नियमित कार्यक्रमलाई डिजिटल स्वरूप प्रदान गरी नियमित रूपमा वेविनार आयोजना गर्दै आएको कलेजले बताएको छ।